
काठमाडाैं । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी नै छ ।
सरकारले समयमै सतर्कता अपनाएका कारण क्षति कम गराउन सकिएको दावी गरेको हाे । तर नेपालमा प्राकृतिक विपत्तिमा परिचानल गरिने संयन्त्र र स्रोत साधनको व्यवस्थापन अझै पर्याप्त हुन सकिरहेको छैन । विशेष गरेर पहाडी क्षेत्रमा जाने पहिरो र राजमार्गहरुमा हुने दुर्घटनाबाट प्रभावितहरुलाई सुरक्षित राख्ने तथा उचार गर्ने प्रणालीको विकास गर्न सकिएको छैन । त्यसमाथि उद्धारमा खटिने तालिम प्राप्त जनशक्तिको अभाव पनि खड्किने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वसूचना अनुसार नै शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण गएको पहिरो र बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको छ। काठमाडौं उपत्यकासहित २५ जिल्ला प्रभावित हुँदा बाढी-पहिरोमा परेर करिब ६० जनाको मृत्यु भइसकेको छ । सरकारले मौसमविद्हरुको सुझाव अनुसार जोखिमयुक्त क्षेत्रका राजमार्गहरुमा यातायात चलाउन रोक लगाएका कारण राजमार्गहरुमा हुने ठूलो दुर्घटना भने यस पटक हुन पाएन ।
त्यसो त उद्धारका लागि नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २० हजार जनशक्तिलाई उद्धारमा परिचालन समेत गरिएको छ । नेपाली सेनाले पूर्वको इटहरी र झापा, काठमाडौं उपत्यका र सूर्खेत गरेर ४ स्थानलाई आधार बनाएर हवाइ उद्धार गरेको थियो । सशस्त्र प्रहरी बलले विपद् उद्धारमा दक्ष जनशक्तिलाई दशैं बिदा नै नदिएर उद्धारमा खटायो भने जनजी युवाकाे आन्दोलनका क्रममा आफ्ना भवन र उद्धार समाग्रि समेत खरानी बनाइए पनि नेपाल प्रहरी पनि उद्धारमा सक्रिय भयो ।
सबै भन्दा ठूलो मानवीय क्षेति इलाममा भएकाे छ । पहिरोले इलाममा मात्रै ३७ जनाको मृत्यु भयाे । तर प्राकृतिक विपतिमा सुरक्षा निकायसंग भएको जनशक्तिले मात्रै उद्धार सम्भव छैन भन्ने यस पटक पनि देखिएको छ । स्थानीय तहमा पनि तालिम दिएर स्वयमसेवक परिचालन गर्नु पर्ने सुरक्षा निकायको बुझाइ छ । विशेष गरेर पहाडी क्षेत्रमा मौसम र भौगोलिक अवस्थाले उद्धारकर्ताहरु पुग्ने कठिन हुने गरेको छ। त्यसमा लागि स्थानीय तहले नै युवाहरुलाई उद्धारको तालिम र न्युनतम स्रोत उपलब्ध गराउनु पर्ने सुरक्षा निकायको विश्लेषण रहेको छ । स्थानीय प्रशासन र नागरिकसँगको सहकार्यले मात्रै विपद उद्धारमा सहज हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत बताउनुभयाे।
नेपालमा विपदकाे समयमा सबै भन्दा कठिन अवस्था स्वास्थ्य सेवामा देखिन्छ । बाढी पहिरोमा परेका घाइतेहरुको उपचारका लागि राजमार्गहरुमा आवश्यक ट्रमा सेन्टरहरु बन्न सकेका छैनन । सशस्त्र प्रहरी बलमा विपद उद्धारका लागि केही दक्ष जनशक्ति भए पनि नेपाल प्रहरीसँग करिब २ हजार मात्रै प्राकृतिक विपतिमा उद्धार गर्न सक्ने तालिम प्राप्त जनशक्ति छन् । विस्थापितहरुलाई सुरक्षित राख्ने स्थान, उद्धारकर्ताहरुसँगै पठाउनु पर्ने स्वास्थ्य टोली , विस्थापितहरुका लागि आवश्यक खाद्यन्नको प्रयाप्त भण्डारण र त्यसको वितरण प्राणालीले विपद व्यवस्थापनमा सबै भन्दा बढी भूमिका खेल्नु पर्ने हुन्छ ।
नेपालका लागि स्रोत साधान र उद्धारका लागि तालिम प्राप्त जनशक्ति र त्यसको व्यवस्थापनका लागि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण जस्ता संयन्त्रमा दक्ष नेतृत्व आवश्यक रहेको विपद व्यवस्थापन विज्ञ ठूले राईकाे बुझाइ छ । विपद अघि प्रतिकार्यका लागि तयारी , परिचालन र विपद पछिका परिस्थिति सम्हाल्न सकेमात्रै व्यवस्थापन सहज हुने गर्दछ । त्यसका लागि उद्धार र व्यवस्थापनका लागि दक्ष जनशक्तिसँगै स्रोत साधन सबै भन्दा महत्वपूर्ण हो ।
विषेश गरेर राजमार्गहरु बन्द हुन हुँदा ढुवानी रोकिएर पर्न सक्ने असर, घाइतेहरुको उद्धार , राहत र विस्थापितहरुको पूर्नस्थापना लागि सरकारले रणनीतिक योजना बनाउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्