२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


पाटन अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु, छानविन गर्ने सहमति


0
Shares

काठमाडौं, असार ६ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरस्थित पाटन अस्पतालमा तोडफोड गरेका छन् ।

गोदावरी नगरपालिका वडा नं. ९ छम्पी बस्ने कृशल मगरको उपचारका क्रममा सोमबार मृत्यु भएपछि पीडित पक्षले अस्पताल तोडफोड गरेको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं. ९ छम्पीका १७ वर्षीय कृशल मगर पेट दुख्ने समस्या लिएर १५ दिनदेखि पाटन अस्पतालमा उपचार गर्न पुगेका थिए । तर अस्पतालले सामान्य ग्यास्ट्रिकको समस्या भन्दै पेनकिलर मात्र दिँदै आएको थियो ।

लगातार उपचार गर्दासमेत ठीक नभएपछि उनलाई अस्पतालमै भर्ना गर्न पीडितपक्षले दबाब दिएको थियो । पछि मगरलाई एपेन्डिक्स भएको पत्ता लागेको थियो । तर तत्काल शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्ने भए पनि अस्पतालका चिकित्सकको लापरबाहीले ढिला गर्दा उनको मृत्यु भएको पीडित पक्षको आरोप छ ।

अस्पतालले सुरुमै एपेन्डिक्स हो भन्ने पत्ता लगाउन नसक्दा र चिकित्सकले लापरबाही गर्दा आफ्नो छोराको मृत्यु भएको मृतककी आमाले आरोप लगाइन् ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोपमा अस्पतालले कुनै प्रतिक्रिया दिएको छैन । पीडितपक्षको दबाबपछि घटनाबारे छानबिन गर्न अस्पताल तयार भएको छ । त्यसका लागि दुवै पक्षबाट प्रतिनिधि रहने गरी समिति गठन गर्ने सहमति भएको छ ।

योसँगै पाटन अस्पतालमा देखिएको तनाव तत्कालका लागि अन्त्य भएको छ ।