Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


‘देशैभरी बडा दशैंकाे राैनक'(भिडियाे रिपाेर्ट)


273
Shares

काठमाडाैं । नवरात्रको आठौं दिन मंगलबार महाअष्टमी पर्व धुमधामका साथ मनाइएको छ ।

घटस्थापनादेखि नवरात्रको सातौं दिनदेखि दशैंको विशेष रौनक शुरु हुन्छ । सरकारी कार्यालय बन्द हुने र कर्मथलोबाट आफ्नो जन्म थलो जानेहरुको लर्कोले सप्तमीपछिका दिनमा दशैंको रौनक देखिन्छ ।

हिन्दु धर्मावलम्बीको मुख्य पर्व विजया दशमीको रौनक देशैभरी छाएको छ । बिहीबार विजयादशमी भएकोले पनि दशैं मनाउन काठमाडौं उपत्यका लगायत देशैभरीबाट गाउँ फर्किनेहरुको लर्को अहिले पनि देखिन्छ । काठमाडौं उपत्यकालाई कार्यथलो र अध्ययनस्थल बनाइ बसेकाहरु दशैं मनाउन गाउँ फर्किरहेका छन् । विशेष गरी सप्तमीको दिनदेखि सरकारी कार्यालय बन्द हुने भएका कारण पनि सप्तमी, अष्टमी र नवमीमा थातथलो जानेहरुको लर्को लाग्ने गर्छ ।

नवरात्रको सातौं दिन घर-घरमा फूतपाती भित्र्याइएको थियो भने नवरात्रको आठौं दिन महाअष्टमीमा महागौरीको पूजा आराधना गरि मनाइएको छ । महाअष्टमीमा उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती लगायत शक्तिपीठ तथा उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, धनुषाको राजदेवी र डडेल्धुराको उग्रतारा लगायत शक्तिपीठहरूमा पनि बलिसहित पूजा तथा आराधना गरिएको छ । पशु बली नचढाउनेहरूले पूजा कोठामा आफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला र आदिलाई बली चढाएर पूजा-आराधना गरेका छन् ।

महाष्टमीको अवसरमा भद्रकाली मन्दिरमा आफ्ना सवारी साधन चालकले आफूलाई सधैं साथ दिने र नबिग्रने आशाका साथ सवारीको पूजा गरेका हुन् । नवरात्रको महाअष्टमी-नवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने र आफूलाई नाफाउन्मुख गराउने जस्ता जनविश्वास रहि आएको छ । महानवमीमा विशेष गरि सिद्धिरात्रि देवीको पूजा–आजा गरि मनाइँदैछ ।

यसैबीच, जनकपुरको मिथिलावासी नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् । विवाहित मैथिल महिलाहरुले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिंड , सिन्दूर, सुपारी,पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् । मिथिलाञ्चलका शक्तिपीठहरु, देवी मन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ । जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको छ । त्यस्तै, महोत्तरीको सोनामाई मन्दिरमा भूत मेलाको रौनक नै छाएको छ ।

औरही नगरपालिका ७ मा अवस्थित सोनामाइ मन्दिर मिथिला क्षेत्रकै एक प्रमुख शक्तिपीठका रुपमा प्रख्यात छ । त्यहास्थित पूआ, पाठ गरे भूत–प्रेतबाट सताइएका तथा सन्तान प्राप्तिको इच्छा राख्नेहरुको मनोकामना पूरा हुने धार्मिक विश्वास पाइन्छ । बैतडीको दशरथचन्द नगरपालिकामा रहेको ऐतिहासिक निङ्लाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ।

सुदूरपश्चिमको आस्थाकी देवीका रुपमा समेत पूजा गरिने निङ्लादेविको भक्तजनले विधिपूर्वक पूजा-आजा गरि दुग्ध, फलफूल र पुष्प चढाएका छन् भने राँगा–बोकाको बलि दिने परम्परा पनि रहि आएको छ। पश्चिम नवपरासीको ऐतिहासिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा भक्तजनको घँइचो लागेकाे हाे ।

नवदुर्गाका शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री गरि ९ वटा रुपमा विशेष पुजा तथा आराधना गरिन्छ । असत्यमाथि सत्यको विजयको रुपमा समेत हेरिने विजयादशमी चाडलाई विशेष गरि भगवान श्रीरामले राक्षस रावणको बध गरेको सम्झनाको दिनको रुपमा मनाइन्छ । विजयदशमीमा भगवतीले दानवी शक्तिमाथि, रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य, खुसियालीमा दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर आर्शिवाद थापेर मनाइन्छ ।

दशैंको मुखमा भएको जेनजी आन्दोलन र त्यसका कारण भएको क्षतिले दशैंको शुरुवात केही खल्लो भएता पनि अवस्था सामान्य बन्दै गएपछि दशैंको रौनक देखिएको हो ।