Logo ३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025


छथर गाउँपालिकाद्वारा ७० विपन्न परिवारलाई खाद्यान्न वितरण


923
Shares

काठमाडाैं । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक रूपमा अत्यन्तै विपन्न परिवारहरूलाई चाडपर्वमा पर्ने समस्या समाधानका लागि खाद्यान्न वितरण गरेको छ ।

दैनिक मजदुरी गरेर जीवनयापन गर्ने त्यस्ता परिवार दशैं र तिहार जस्ता पर्वमा आर्थिक रुपले झनै समस्यामा पर्ने भएकाले गाउँपालिकाले राहत स्वरुप सहयोग गरेको हो । दशैं–तिहार जस्ता ठूला पर्वहरूमा आफूले गर्दै आएको ज्यादारी कामको समेत अभाव व्यहोरेका गाउँपालिकाका ७० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

ती परिवारलाई गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले वडा–वडामा आफै पुगेर खाद्यान्न सहयोग गर्नुभएको हो । खासगरी दैनिक मजदुरी नगरी आधारभूत आवश्यकता समेत पुरा नहुने परिवारलाई लक्षित गरी गाउँपालिकाले विगतका वर्षदेखिनै गर्दै आएको दशैंमा खाद्यान्न सहयोगलाई यसवर्ष पनि निरन्तरता दिएको अध्यक्ष तिगेलाले जानकारी गराउनुभयाे।

चाड पर्वकाे समयमा आर्थिक अभाव झेल्ने गरेका परिवारहरुको तथ्यांक वडा कार्यालयमार्फत संकलन गरी सहयोग गरिएको समेत प्रवक्ता राजन नेपालीले बताउनुभएकाे छ । साेही पालिकाले आर्थिक रुपले विपन्न नागरिकदेखि एकल पुरुष र शारीरिक रूपमा अपाङ्गता भएका नागरिक तथा ज्येष्ठ नागरिकहरूसम्मलाई घरमै पुगेर विभिन्न कार्यक्रममार्फत सेवा प्रवाह गर्दै आएको जनाएकाे हाे ।

नागरिकको घरसम्मै पुगेर स्थानीय सरकारले प्रवाह गरेको सेवाले छथरवासीलाई थप सहजता प्रदान गरेको छ ।