
काठमाडाैं । गत भदौ २३ र २४ गते जेनजी युवाकाे आन्दाेनपछि भौतिक क्षति व्यहोरोको नेपाल प्रहरी आफ्नो लयमा फर्किने प्रयासमा रहेकाे छ।
विषेश गरी आन्दोलनका नाममा कारागार र प्रहरी हिरासतबाट फरार कैदीबन्दी र थुनुवाका कारण शान्ति सुरक्षामा जोखिम आउन सक्ने प्रहरले अनुमान गरेकाे हाे। तर, मुख्य पर्वको समयमा नागरिकको सुरक्षाका लागि प्रहरीले विशेष रणनीति बनाएर काम गरिरहेको बताएकाे छ।
भदौ २४ गतेको आन्दोलनमा नियोजित रुपले आगो लगाएर ध्वस्त बनाइएको उपत्यका प्रहरी कार्यालय रंगरोगन गरेर आफ्नो लयमा फर्किएको छ । काठमाडौं उपत्यकामा तीन वटै जिल्लाको सुरक्षा जिम्मेवारी हुने भएकाले पनि यो कार्यालयमा नागरिकको चासो हुन्छ । विषेश गरी आन्दोलनका नाममा, कारागार र प्रहरी हिरासतबाट फरार आरोपीले नियोजित आगो लगाएकाले त्यसको सिधा प्रभाव अहिले दैनिक शान्ति सुरक्षामा परिरहेको छ । चोरी, लुटपाट र डकैती हुन सक्ने जोखिम पनि देखिएको छ ।
काठमाडाैं उपत्यका प्रहरी कार्यालयले नागरिकको सुरक्षाका लागि आफूहरु तयारी अवस्थामा रहेको जनाएकाे छ । दैनिक ५ हजारका दरले करिब १५ हजारसम्म प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ। चाड पर्वको मौका छोपेर हुन सक्ने अपराध नियन्त्रणका लागि प्रहरीले कुनै सम्झौता नगर्ने र अत्यावश्यक बाहेक प्रहरीलाई विदामा जान पनि रोकिएको कार्यालयले जनाएकाे हाे ।
प्रहरीको संरचना जले पनि सबै भन्दा धेरै स्थानीयले नै प्रहरी खोजिरहेको कार्यालयको बुझाइ छ । नजिकको प्रहरी कार्यालय जलेर प्रहरी नदेखेपछि नागरिक आफैंले सुरक्षाका लागि कार्यालय बनाइदिइरहेकाले उनीहरुको सुरक्षाका लागि कुनै सम्झौता नुहुने काठमाडाैं उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादु कार्कीले बताउनुभयाे ।
विषेश गरी अहिलेको समयमा कारगारबाट फरार तथा आगजनी र लुटपाटमा संलग्न आपराधिक समुह नै सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । तर, गृह मन्त्रालयले सबै अपराधमा संलग्नलाई जेनजी आन्दोलनमा सहभागी भन्ने शैलीमा जाँचबुझ आयोगको प्रतिवेदन अनुसार कारबाही हुने भन्दै विज्ञप्ति सार्वजनिक गर्यो । जब कि प्रहरीको हतियार लुटिएको छ जुन आपराधिक व्यक्तिको हातमा पुगेको हुन सक्ने आशंका प्रहरीलाई छ ।
साेही हतियार दुरुपयोग हुन सक्ने जोखिम बढिरहेकाे समयमा गृह मन्त्रालयले निकालेको विज्ञप्तिले प्रहरीलाई सुशासन कायम गराउन पनि अवरोध गर्न सक्छ । प्रहरीकै कार्यालय, सिंहदरबारदेखि सर्वाेच्च अदालतसम्म जलाउने र हतियार लुटनेसम्मका घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न नसके सरकारलाई नै अप्ठेरो पार्ने गरी अपराधका घटना बढन सक्ने जोखिम छ । यदि गृह मन्त्रालयले अनावश्यक अवरोध गरे त्यसले प्रहरीभित्रै चरम असन्तुष्टि हुन सक्छ । यता नागरिकले पनि प्रहरीसँगै सुरक्षा खोजिरहेका छन्। चाड पर्वको समयमा हुने अपराध नियन्त्रणका लागि स्थानीय आफैंले पनि गस्ति तथा निगरानी बढाउन सक्ने प्रहरी प्रमुख कार्कीकाे सुझाव छ।
चाडपर्वको समयमा त्यसै पनि आपराधिक समूहको चुनौती हुने गर्छ । त्यसमा पनि अहिलेको विषम परिस्थितिमा सुरक्षा चुनौती बढेको छ । यस्तो समयमा सरकारले सुरक्षा दिन नसके नागरिक थप त्रास र आक्रोषित हुन सक्छ । सरकारले पनि सबै अपराधलाई जेनजी आन्दोलनका नाममा समाजमा खुला छोड्नु सरकारकै लागि प्रतिउत्पादक बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्