चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा, उपयुक्त समयमा आउने प्रतिवद्धता • Image Khabar Image Khabar


चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा, उपयुक्त समयमा आउने प्रतिवद्धता


Imagekhabar
६ असार २०७५, बुधबार ०५:०२

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा, उपयुक्त समयमा आउने प्रतिवद्धता

चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा, उपयुक्त समयमा आउने प्रतिवद्धता

हरि लामिछाने 

बेइजिङ, असार ६ । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए ।

नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गरे ।

राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे ।

प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उनले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताए ।

सोहि अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएकामा राष्ट्रपति सीलाई हार्दिक बधाई दिए ।

उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । (रासस)

 

प्रतिक्रिया दिनुहोस्