Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषय पेचिलो बन्दै (भिडियाे रिपाेर्ट)


325
Shares

काठमाडौं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक दलभित्र पुस्तान्तरणको विषय जोडतोडका साथ उठेको छ ।

पहिलो पुस्ताका नेताहरुकै कारण मुलुकले ठूलो क्षति ब्यहोरेको भन्दै दाेस्राे पुस्ताका नेताहरुले अब मार्ग प्रशस्त गर्नुपर्ने माग बढाएका हुन् । अर्कोतर्फ पहिलो पुस्ताका नेताहरु सहजै सन्यास लिने अवस्थामा छैनन्। त्यसैले पनि यो विषय जटिल बन्दै गएको छ ।


जेनजी आन्दोलन अघि नै नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषय निकै पेचिलो थियो । खासगरी संस्थापन इतर पक्षले सभापति शेरबहादुर देउवाको विकल्प खोजिरहेको थियो । त्यसका लागि महामन्त्री गगन थापाले निकै रणनीति खेल्दै आउनुभएकाे हाे । पार्टी संसदीय दलको निर्वाचनमा समेत थापाले टक्कर नै दिनुभएकाे थियाे । यद्यपी उहाँले बाजी मार्न भने सक्नुभएन्। त्यति मात्र होइन, महामन्त्री थापाले सार्वजनिक रुपमै नेतृत्व लिन तँछाडमछाड गरिरहेको विगतको दृष्टान्त नै थियो । जेनजी आन्दोलनपछि कांग्रेसभित्र साेही विषय झन पेचिलो बनेको छ ।

जेनजी आन्दोलनकारीको आक्रमणबाट सभापति देउवा घाइते भएर उपचारत हुनुहुन्छ । उहाँको अस्पतालमा उपचार जारी छ । यहि समयमा नै दोस्रो पुस्ताका नेताहरु नेतृत्व हस्तान्तरणको मुद्दा लिएर अघि बढेका छन् । कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषय आवश्यक हो । त्यसमा कुनै दुई मत नै छैन । विगतदेखि नै पार्टीभित्र देउवाको हालीमुहाली नै हुँदा कांग्रेस संकटमा परेको छ । पछिल्लो जेनजी आन्दोलन पनि देउवाहरुकै हठका कारण भएको भन्दा फरक नपर्ला ।

उहाँले दोस्रो पुस्ताका नेताहरुको कुरा सुनेर सरकारबाट अलग भएको भए यतिसम्मको अवस्था हुने थिएन । तर, प्रधानमन्त्री पाउने आशामा देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छाड्न मान्नुभएकाे थिएन। प्रधानमन्त्री बन्ने आशामा अघि बढेका देउवाले यस्तो हालत होला भनेर सोच्नु पनि भएकाे थिएनन् । त्यसपछि देउवामाथि जेनजी आक्रमण मात्र होइन, नेतृत्व छाड्न समेत दवाव बढेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनको मुद्दा जोडतोडका साथ अघि बढाइरहेका छन् ।

सभापति देउवालाई सकेसम्म फकाउने, मनाउने नभए खोसेरै भएपनि नेतृत्व लिने महामन्त्रीहरुको दाउ देखिन्छ । विशेष महाधिवेशन मार्फत नेतृत्व चयन गर्ने उनीहरुको दवाव छ । यस्तो अवस्थामा कांग्रेस कसरी अघि बढ्छ ? निकै चासोका साथ हेरिएको छ ।