
नरेन्द्र महतारा
काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि बनेको अन्तरिम सरकार एक हप्तासम्म पनि मन्त्रिपरिषद विस्तारमा अलमलिरहेकाे छ ।
प्रधानमन्त्री सुशीला कार्कीकाे काँधमा अधिकांश मन्त्रालयको जिम्मेवारी रहेकाे हाे । १०-११ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने बताउनुभएकी प्रधानमन्त्री कार्कीले तीन जना मन्त्री नियुक्त गरेता पनि बाँकी मन्त्रीको अझै टुंगाे लागेको छैन । लामो समय प्रशासनीक जिम्मेवारीसहितका कार्यकारी निकाय मन्त्री बिहीन हुँदा सेवा प्रवाहमा समस्या देखिन थालेको छ ।
जेनजी आन्दोलनपछि सरकार परिवर्तन हुँदा सबैतिर आशा पलाएको थियो । पटक-पटक सरकारमा रजाई गरेकाहरुले पद छोडेपछि अब आउने सरकार थप मजबुत हुन्छ भन्ने आशा थियो । मुलुकमा नयाँ सरकार त आयो तर नयाँ सरकार केही अलमलिरहेकाे जस्तो देखिएकाे छ । हुन त अन्तरिम सरकार भएकाले सरकारको काम नै निर्वाचन गराएर नेतृत्व हस्तान्तरण गर्ने हो । त्यसैले पनि अन्तरिम सरकार बढी निर्वाचनमा केन्द्रित हुनुपर्छ ।
यो सरकारको काँधमा निर्वाचन गराउने अभिभारा मात्र छैन, ध्वस्त मुलुकलाई उठाउने अभिभारा पनि छ । त्यो अभिभारा पूरा गर्न सरकारले पूर्णता पाउनुपर्ने हुन्छ । अन्तरिम सरकार अहिले पूर्ण भएको छैन । जम्बो मन्त्रिमण्डल बनाउनेतिर भन्दा आवश्यक मन्त्रालयमा नेतृत्व टुंगो लगाउन सके मात्र सरकारले कामको गतिलाई अघि बढाउन सक्ने सरकारमा सहभागी मन्त्रीहरु नै बताउँछन् ।
६ महिनाको समयावधि रहेको सरकारकाेअ समय दैनिक रुपमा घर्किदै छ । १०-११ जनाको मन्त्रिमण्डल बनाउनेगरी अघि बढेकी प्रधानमन्त्री कार्की यतिबेला अलमलमा पर्नुभएकाे हाे। प्रधानमन्त्रीमा नियुक्त भएको एकसाता बित्दा पनि सरकार अझैं अपूर्ण नै छ ।
जम्बो मन्त्रालयको नेतृत्व प्रधानमन्त्री कार्कीकै काँधमा छ । यस्तो भएपछि प्रधानमन्त्री कार्कीमाथि प्रश्नहरु उठ्न थालेका छन् । प्रधानमन्त्री कार्कीले जनतामाझ राम्रो छवि बनाएका गैर-राजनीतिक व्यक्तिहरुलाई सरकारमा सामेल गर्ने रणनीति अघि बढाएको देखिन्छ ।
जम्बो मन्त्रालयको नेतृत्व सम्हालेकी कार्कीले समयमै सरकार विस्तार गर्न सक्नुभएन भने उहाँको क्षमतामाथि पनि प्रश्नहरु खडा हुन सक्छन् । देश ठूलो संकटमा धकेलिएकाे समयमा कार्कीले मुलुकको नेतृत्व सम्हाल्नुभएकाे छ । देशको विषम परिस्थितिमा निकास निकाल्ने गरी काम गर्न कार्कीका अगाडि चुनौती छ ।
विद्यमान चुनौतीको सामना गर्नका लागि प्रधानमन्त्री कार्कीले जति सक्दो छिटाे मन्त्रिमण्डल विस्तार भने गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्