
मुम्बई, असोज ४ । भारतको मुम्बईबाट जयपुरका लागि उडेको जेट एयरवेजको विमानमा कम्तीमा ३० यात्रुको नाक र कानबाट अचानक रगत बगेपछि विमानलाई बीचबाटै फर्काएर मुम्बईस्थित विमानस्थलमा अवतरण गराइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १६६ यात्री र चालक दलका पाँच सदस्य सवार थिए ।
विमान उडेको केहीबेरमै यात्रीहरुमा समस्या देखिएको थियो । कयौंमा टाउको दुख्ने समस्या देखिएको थियो भने ३० यात्रीको नाक र कानबाट रगत बगेको बताइएको छ ।
विमान कर्मचारीले विमानभित्र प्रेसर मेन्टन गर्ने स्वीच ‘अन’ गर्न बिर्सिएका कारण अक्सिजनको कमी भइ यात्रुको स्वास्थ्यमा समस्या देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जेट एयरवेजका अनुसार बिहीबार बिहान मुम्बईबाट जयपुर जाँदै गरेको विमानलाई बाटोबाटै मुम्बई फर्काइएको हो । विमानभित्र प्रेसर कम भएका कारण यसरी विमानलाई फर्काउनु परेको उक्त विमान सेवाले जनाएको छ ।
अस्वस्थ यात्रुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । उक्त विमानका कर्मचारीलाई ड्युटीबाट हटाइएको पनि जेट एयरवेजले जानकारी दिएको छ । उक्त घटनाको बारेमा विस्तृत छानविन भइरहेको भारतको उड्डयन महानिर्देशनालयले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्