Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


तहजिया बाबाको प्रतिमा बनाएर मालामाल


0
Shares

कपिलवस्तु, असोज ४ । मुस्लिम धर्मावलम्वीको पर्व मोहर्रमका बेला कपिलवस्तुमा प्रदर्शनमा राखिने तहजिया बाबाको प्रतिमा बनाउने व्यवसाय राम्रो आम्दानीको स्रोत बनेको छ ।

रंगीचंगी कागज र बाँसको सहायताले लामो आकारमा बनाइने तहजिया बाबाको प्रतिमा बिक्रीबाट यहाँका दुई दर्जन परिवारले राम्रो आम्दानी गर्ने गरेका छन् । पछिल्ला वर्षहरुमा हिन्दू धर्मावलम्बीले पनि तहजिया बाबाको पूजाआजा गर्न थालेपछि त्यसको प्रतिमा खरिद बिक्रीसमेत बढेको हो ।

एक जनाले वर्षमा १ सयभन्दा बढी तहजिया बाबा बनाएर बिक्री गर्ने गर्दछन् । यसका लागि उनीहरुले ३ महिना अघिदेखि नै बाँसलाई लचिलो बनाउने र रंगीचंगी कागजको व्यवस्था गर्ने गर्दछन् । तहजिया बाबाको प्रतिमा बिक्री गरेरै ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरु बताउँछन् ।

मुस्लिम समुदायले शोक पर्वका रुपमा मनाउने मोहर्रम पर्वमा ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका छोरी पट्टीका नाती हजरत हुसेन र उनका परिवारलाई ईराकको कुफा र बसरा शहरबीचको करवलामा हत्या गरिएको दिनको स्मरण गरिन्छ । मुस्लिम धर्मावलम्बीहरुका धार्मिक गुरु हजरते इमामे हुसेनको सम्झनामा मनाइने पर्वमा उनको प्रतीक स्वरुप तहाजियाको पूजा गर्ने प्रचलन छ ।