उदयपुर, असोज ४ । उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीको विकासका लागि करोडौं रुपैयाँ खर्च भए पनि पोखरीको अवस्थामा सुधार आउन सकेको छैन ।
रौतापोखरीको विकास गर्ने भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले वार्षिक ठूलो रकम खर्च गर्दै आएका छन् । ३० वर्षदेखि पटकपटक गरी यो पोखरीको संरक्षण सम्वर्द्धनका नाममा ३ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ । तर, पोखरीको अवस्थामा परिवर्तन आउनुको सट्टा प्राकृतिक सुन्दरतामा झन् ह्रास हुँदै गएको स्थानीयको गुनासो छ ।
पोखरी आसपासमा राखिएका कयौं होर्डिङ बोर्डले यहाँको सुन्दरतालाई कुरुप बनाएको छ । रौतापोखरी क्षेत्र प्राकृतिक रुपले सुन्दर र धार्मिकरुपमा महत्वपूर्ण मानिन्छ ।
३ हजार ४ सय मिटरको उचाईमा रहेको रौतापोखरी उदयपुरको सदरमुकाम गाईघाटबाट ४४ किलोमिटर उत्तर रौतामाई गाउँपालिका–४ मा पर्छ । सन्तान जन्मँदा, विवाह गर्दा या कुनै नयाँ कार्यको थालनी गर्दा वा नयाँ बाली भित्र्याउँदासमेत रौतामाईको पूजा गर्ने प्रचलन रहँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्