Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


काठमाडौंको चक्रपथमा तीन वर्षभित्रै मोनोरेल चल्ने सम्भावना (भिडियो)


78
Shares

लक्ष्मी लामा/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असोज ३ । काठमाडौं उपत्यकामा सन्चालनमा ल्याइने मोनोरेलको प्रारम्भिक अध्ययन पूरा भएको छ ।

चाइना रेलवे कम्पनी (सीआरसीसी)ले प्रारम्भिक प्रतिवेदन बुझाएसँगै काठमाडौंको चक्रपथमा तीन वर्षभित्रै मोनोरेल चल्ने सम्भावना बढेको हो ।

काठमाडौं उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब ५८ करोड ८७ लाख ४० हजार रुपैयाँ लाग्ने भएको छ ।

चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार मोनोरेलका लागि २७ किलोमिटर लामो ‘लिक’ निर्माण गर्नुपर्ने देखिन्छ ।

मोनोरेल निर्माणकाक्रममा चक्रपथमा १७ ओटा स्टेसन बन्नेछन् ।

चाइना रेलवे कम्पनी सीआरसीसीले गत जेठमा ६ महिनाभित्रै प्रारम्भिक प्रतिवेदन बुझाउने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकासँग मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो ।

मोनोरेल सन्चालन गर्दा बस तथा लोकल यातायातको तुलनामा खर्चिलो भएपनि मेट्रोरेलको तुलनामा सस्तो पर्नेछ ।

मोनोरेल महँगो पर्ने भएकाले १० किलोमिटरभन्दामाथि १० प्रतिशत, २० किलोमिटरभन्दामाथि ३० प्रतिशतले भाडा बढाउनुपर्ने विज्ञहरुको भनाइ छ ।

मोनोरेल बनाउन महानगरपालिका एक्लैको प्रयास असम्भव हुने भएकाले अन्य विदेशी दातृनिकायको सहयोग आवश्यक पर्ने काठमाडौं महानगरपालिकाका निर्देशक महेश काफ्ले बताउँछन् ।

३० लाखभन्दा बढी जनसंख्या भएको सहरमा मेट्रो प्रणाली अनिवार्य हुन्छ ।  तर, अहिले नै काठमाडौं उपत्यकाको जनसंख्या ३० लाखभन्दा बढी रहेको छ । त्यसैले ढिलो–छिटो नेपाल ‘मास ट्रान्जिट’मा जानुपर्ने अवस्था रहेको विज्ञहरुको भनाइ छ ।

अस्ट्रेलिया, इन्डोनेसियाको जर्काता, भारतको मुम्बइमासमेत मोनोरेल असफल भइसकेकाले नेपालमासमेत पर्याप्त अध्ययन गर्नुपर्ने पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यको भनाइ छ ।

विज्ञहरुले हरेक दृष्टिकोणले काठमाडौंका लागि अहिले नै मोनोरेल उपयुक्त नहुने तर्क गरेका छन् ।

महानगरपालिकाले भने मोनोरेलको लागत खर्च सबै चिनियाँ कम्पनीले नै व्यहोर्ने र निश्चित समयका लागि सन्चालन गरेपछि नेपाललाई नै हस्तान्तरण गर्ने हुँदा घाटा नभइ नाफा हुने तर्क गरेको छ ।

तर, मेट्रो र मोनोरेलकाबारेमा थप अध्ययन गरेर प्रक्रिया अघि बढाउँदामात्र नेपालको दीर्घकालीन विकासमा सहयोगसिद्ध हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्