३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


रक्षा मन्त्रालयको एक वर्ष : ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा निर्माण सम्पन्न


2.691k
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागर्दै मन्त्री राईले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको रक्षा मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।

प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री राईले नेपाली सेनामार्फत भइरहेका विकास निर्माणका आयोजनाहरुमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो । उहाँकाअनुसार मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा सडक यातायातले छोएको बताउनुभयो । उहाँले मन्त्रालयले विपद्जन्य घटहरुको राहत र उद्धार समेत गर्दै आएको बताउनुभयो । छिमेकी मुलुकहरुमा शान्ती स्थापना गर्ने सवालमा सबैभन्दा ठूलो शक्ति नेपाली सेना बन्न पुगेको पनि उहाँको दाबी छ ।

मन्त्री राईले रक्षा मन्त्रालयका सह–सचिव मनोजकुमार आचार्यले आर्थिक वर्ष २०८१/८२ मा संशोधित विनियोजन १५ अर्ब ३० करोड रुपैयाँ रहेकोमा हालसम्म १३ अर्ब ४६ करोड रुपैयाँ खर्च भइसकेको बताउनुभयो । उहाँकाअनुसार मन्त्रालयमार्फत भइरहेको आयोजनाहरुको कुल लागत २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ ।

मन्त्रालयअन्तर्गतका विकासे आयोजनाहरुको असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत पुगेको र वित्तीय प्रगति ४२.७४ प्रतिशत रहेको पनि उहाँले उल्लेख गर्नुभयो । आचार्यका अनुसार मन्त्रालयअन्तर्गत अन्तर्गत ७ वटा सुरुङ मार्ग निर्माण भइरहेका छन् । तीमध्ये मकवानपुरमा पर्ने एक सुरुङमा ब्रेकथ्रू भइसकेको छ भने बाँकी सुरुङहरू निर्माणको क्रममै छन् । निर्माणाधीन ८९ वटा पुलहरुमध्ये ५० वटा पुलका लागि खरिद सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्री राईले विकास निर्माणसँगै सुरक्षा निकायहरुलाई सेवा सुविधा थप्ने कुरामा पनि मन्त्रालय प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।