
काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको हालसम्मको प्रगति र अगामी कार्ययोजनाबारे शहरी विकास मन्त्रालयसँग छलफल गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले संसद भवन निर्माण कार्य पुनः ढिलाइ भएपछि शहरी विकास मन्त्रालयलाई साउन ११ गते अगामी कार्ययोजनासहित छलफलमा उपस्थित हुन पत्राचार गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद भवन निर्माणको कार्य प्रगति र अगामी कार्यतालिकासहित सरकारलाई छलफलमा बोलाउन माग गर्नुभएको थियो ।
समिति सभापति ठाकुर गैरेले निर्माणाधीन संसद भवनको पटक–पटक अनुगमन र पत्राचार गर्दा पनि काम समयमै सम्पन्न हुन नसकेको भन्दै गम्भीर असन्तोष व्यक्त गर्नुभयो । उहाँले संसद भवन निर्माणको काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी म्याद थपेको समितिलाई प्राप्त भएको समेत जानकारी दिनुभयो ।
समितिले कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदन समेत पारित गरेको छ । समितिले यसअघि कर्णली प्रदेशको दैलेख, कालिकाट, जुम्ला र मुगुको शिक्षा, स्वास्थ्य, खोनपानी लगायतको अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो ।
बुधबार पारित गरिएको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री एवं सम्बन्धित मन्त्रालयमा पठाइने सभापति गैरेले जानकारी दिनुभयो । बैठकमा सांसदहरुसँग समितिको वार्शिक प्रतिवेदनका लागि सुझाव समेत मागिएको छ ।
प्रतिक्रिया दिनुहोस्