
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गर्नुभएको छ ।
बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गर्नुभयो । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामाग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने बताउनुभयो । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गर्नुभयो । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताउनुभयो । उहाँले सरकारी कार्यालयहरु सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताउनुभयो । हरेक शुक्रबार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रुपमा सरसफाईमा लाग्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्