
काठमाडौं । नेपाल शिक्षक संघकी पूर्वकेन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य नर्बदा पोखरेलको मेरो जीवनयात्रा नामक पुस्तकको मंगलबार लोकार्पण गरिएको छ ।
आफ्नो शिक्षण जीवनको ४० वर्ष र त्यो भन्दा अगाडिको विद्यार्थीकालीन जिन्दगी भाडाको कोठामा बसेर, पारिवारिक पृष्ठभूमी सामान्य रहेको राजधानीकै ललितपुरकी नारीले अध्ययनसँगै अध्यापन गर्दाको संघर्ष तथा पछिल्लो समय राजनीति र समाजसेवामा समेत अग्रसर गरिएका अध्यायहरु पुस्तकमा समेटिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले बिमोचन गरेको उक्त पुस्तकमा पोखरेलले श्रीमान्, छोराछोरी र अन्य परिवारको साथले स्नातकोत्तर सम्मको अध्ययन गर्न सफल हुन सकेको र नारी एउटा घर, समाज र राजनीतिलाई संगसंगै कसरी व्यवस्थापन गर्न सक्छिन् भन्ने अनुभव धाराप्रवाह रुपमा लेखिएको छ ।
प्रकाशक स्वयं पोखरेल रहेकी उक्त पुस्तकको सम्पादन भने नेपाली भाषाविज्ञ हरि अधिकारीले गर्नुभएको हो ।
झण्डै ३ सयको हाराहारीमा उपस्थीत उक्त समारोहमा राजनीतिज्ञ, पूर्वशिक्षक, समाजसेवी, पत्रकार लागायत पोखरेल परिवारको बाक्लो उपस्थिति रहेको थियो । पोखरेलले आफ्नो जीवन कालमा हालसम्म आफूलाई सहयोग र उर्जा प्रदान गर्नुहुने सवैप्रति आभार व्यक्त गर्दै आफू परिवार, शिक्षण पेशा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुनसकेको व्यक्त गर्नुभयो भने सम्पादक अधिकारीले पुस्तकको संछिप्त परिचय दिनुभएको थियो ।
पहिलो पुस्तक भएको कारण पाठकले पढेर अमूल्य प्रतिक्रिया, समीक्षा तथा टिप्पणी राखिदिए आभारी हुनेछु पोखरेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्