
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा निजी पुँजी आकर्षित गर्न वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ अघि सारिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकले स्वदेश र विदेशमा रहेका निजी क्षेत्रका लगानीकर्तालाई पूर्वाधार विकासतर्फ आकर्षित गर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासमा आवश्यक पर्ने पूँजीमा हाल परम्परागत स्रोतले मात्रै धान्न नसक्ने अवस्था आएको पनि बताउनुभयो । विकासको गुणात्मक गति बढाउन, राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा स्रोत जुटाउन र सार्वजनिक ऋणको चाप कम गर्न निजी क्षेत्रको पुँजी उपयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यकता भएपनि सार्वजनिक ऋण दिनप्रतिदिन बढिरहेको सन्दर्भमा सरकारले वैकल्पिक वित्तीय स्रोत खोज्नु अपरिहार्य रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्