३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छ : अध्यक्ष ढकाल


91
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिकीकरणले व्यवसायलाई कानूनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार प्रदान गर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अनौपचारिक क्षेत्रहरु औपचारिक नबन्दासम्म उत्पादकत्व वृद्धि, राजश्व संकलन, लगानीमैत्री वातावरण बन्न कठिन हुने बताउनुभएको हो । उहाँकाअनुसार अहिले पनि मुलुकमा अनौपचारिक क्षेत्र ठूलो छ । ती क्षेत्र औपचारिकीकरण हुनुपर्छ र नभएसम्म अर्थतन्त्र विस्तार हुन सक्दैन ।

अध्यक्ष ढकालले अहिले पनि व्यवसाय दर्ता जटिल रहेको बताउनुभयो । करका बारेमा समेत अन्योलता रहेको र औपचारिक क्षेत्रलाई सरकारले नियमनको नाममा केही दुःख दिँदा अनौपचारिक क्षेत्र औपचारिक हुन डराइरहेको उल्लेख गर्नुभयो । यसमा राज्यले गम्भीतापूर्वक सोच्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष ढकालकाअनुसार व्यवसायको औपचारिकीकरण अब विकल्प होइन, यो एकदमै आवश्यकता हो । निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्रै कुरा उठाउछन् भन्ने भाष्य कतिपय बेला बनाइने गरिएको छ तर अहिले पूर्णरुपमा परिवर्तन भएको छ । अहिले राज्य संचालन गर्नेहरुले पनि निजी क्षेत्रले भन्दै आएका कुराहरुलाई बुझ्दै जानु सकारात्मक रहेको ढकालको भनाइ छ ।

अध्यक्ष ढकालले पछिल्लो समय सरकारले निजी क्षेत्रका कुरा सुनेर पोलिसीहरु बनाउन थालेको बताउनुभयो । यो एकदमै सकारात्मक रहेको र जसकारण मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउनुभयो । लगानीमैत्री वातावरणका लागि नीजि क्षेत्रमैत्री नीतिहरु अपरिहार्य रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

अध्यक्ष ढकालले सरकारले आहिले गरेको नीतिगत सुधारले मुलुकमा लगानीको वातावरण बन्दै गएको छ । यसले मुलुकभित्र लगानी वृद्धि गर्न सघाउ पुग्नेछ । उद्योग वाणिज्य महासंघ स्वयमः व्यवसायमैत्री वातावरण सिर्जना गर्ने कार्यमा लागिरहेको ढकालले बताउनुभयो ।