२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गैरआवासीय नेपाली संघमा यस वर्ष आवद्ध हुने संख्या करिब ७० हजार पुग्यो


104
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघमा यस वर्ष आवद्धको संख्या करिब ७० हजार रहेको छ ।

गैरआवासीय नेपाली संघका लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ ।

२०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८ हजार ६ सय ५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको र थप ५ हजार बढी नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेको संघले जनाएको छ । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् मार्फत सदस्यता संकलन भैरहेको छ ।

जापानमा सबैभन्दा धेरै करिब साढें १८ हजार सदस्य हुँदा अष्ट्रेलियामा साढें १५ हजार, अमेरिकामा साढें ९ हजार, बेलायतमा साढें ३ हजार सदस्य हुँदा आयरल्याण्डमा सबैभन्दा कम १४ सय बराबर रहेको संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघले स्मार्ट एनआरएनए मोबाइल एपमार्फत सदस्यता प्रणालीलाई थप सहज, पारदर्शी र आधुनिक बनाएको जनाएको छ । आगामी दिनहरूमा बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि यो संख्या अझै बढ्ने संघको अपेक्षा छ । हालसम्म, ५६ वटा राष्ट्रिय समन्वय परिषद् प्रणालीमा आबद्ध भइसकेका पनि संघले जनाएको छ ।

जापान र अष्ट्रेलियामा सदस्यता वितरण सकिएको छ, जसमा जापान शीर्ष स्थानमा देखिएको छ भने अष्ट्रेलियाको सहभागिता पनि उल्लेखनीय छ । यस्तै क्यानाडा, न्युजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबियामा, साउथ सुडान, फ्रान्समा पनि सदस्यता वितरण सकिसकेको छ ।