२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अहिले परोपकारी काम गरौं, मर्दा मानिसले केही लैजाँदैन : प्रधानमन्त्री ओली


728
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्नुभएको छ ।

शनिबार झापामा पुगेर प्रधानमन्त्री ओलीले भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्नुभएको हो ।

अस्पताल भवनको उद्घाटन भने प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाउनुभयो । गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराउनुभएको थियो ।

त्यो बेला विधिवत रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन । यसअघि पटक÷पटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिबार विधिवत उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताउनुभयो । उहाँले मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरुबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो ।

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ । अस्पतालले बीमा सुविधा, ल्याव, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।