
काठमाडौं । सुर्खेतको भेरीगङ्गा नगरपालिका-८ कुइरेमा शुक्रबार दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो करिब ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ भइरहेको बेला अचानक चट्याङ पर्दा २७ वर्षीय डिलबहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि मेहलकुना अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
सोही चट्याङका कारण घाइते भएका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरीलाई पनि अस्पताल लगिएको छ । उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री नेतृत्वको टोली र अस्थायी प्रहरी चौकी जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनार नेतृत्वको पाँच सदस्यीय टोली घटनास्थलमा खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्