
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ ।
सूचना तथा प्रसारण विभागले आज अपराह्न ३:४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । यस्तै, इस्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभयो । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो । विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।
बिहीबार मात्र उहाँले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गर्नुभएको थियो । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्