१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


कांग्रेस केन्द्रिय समिति बैठकः १३ वटा एजेण्डामा छलफल


1.482k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले १३ वटा एजेण्डासहित केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु गरेको छ ।

सोमबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठकका १३ वटा एजेण्डाहरु छन् ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दने अभियानको प्रतिवेदन पेस सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताउनुभयो । साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको बताउनुभयो ।

प्रवक्ता महतकाअनुसार बैठकमा अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल हुनेछ । क्रियाशिल सदस्यता नविकरणको बारेमा छलफल हुने बताउनुभयो । भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने प्रवक्ता महतले बताउनुभयो । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ ।

प्रवक्ता महतकाअनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने बताउनुभयो ।

प्रवक्ता महतले भ्रातृ संगठनको अधिवेशन हुन नसकेकोमा आफ्नो आफ्नो दृष्टिकोण रहेको बताउँदै यस विषयमा केन्द्रिय समितिले निर्णय गर्ने बताउनुभयो । बैठक ४/५ दिनसम्म चल्ने बताउनुभयो ।