
काठमाडौं । एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रश्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैंगिक समानताको हिसावले ऐतिहासिक कदम भएको सांसदहरुले बताएका छन् ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो धारणा राखेमा हुन् । एकल आमाले हुर्काएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयकमा गरिएको व्यवस्था सकारात्मक रहेको उनीहरुको भनाइ छ ।
केही सांसदहरुले विदेशी श्रीमानसँग विवाह गरेका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । नागरिकता नभएकै कारण राज्यबाट बञ्चित नागरिकहरुको समस्याहरु प्रश्तावित विधेयकले हल गर्नेमा उनीहरुको विश्वास छ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले बाबु गुमाएका वा बाबुको गैरजिम्मेवारीका कारण नागरिकता नपाएका सन्तान तथा विदेशमा सन्तान जन्माएर फर्किएकी नेपाली महिलाका सन्तानको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयकले कुनैपनि नागरिक नागरिकताबाट वञ्चित नहोस् भन्ने सुनिश्चितता गरेको बताउनुभयो ।
नेकपा (एमाले)की सांसद ज्वालाकुमारी शाहले नागरिकता विधेयकले महिलाको हक सुनिश्चित गरेको दाबी गर्नुभयो । उहाँले नेपाली महिलाले विदेशी श्रीमानसँग विवाह गरेपछि सन्तानलाई नागरिकता दिन पाउने अधिकार समेत विधेयकले सुनिश्चित गर्नुपर्ने बताउनुभयो । यद्यपि यसका लागि यथोचित प्रमाण र प्रक्रिया आवश्यक पुरा गर्ने व्यवस्था हुनुपर्नेमा उहाँको जोड छ । उहाँले दोहोरो नागरिकताको पूर्णरूपमा निषेध गरेपनि विदेशमा जन्मेका नेपाली मूलका सन्तानलाई विशेष परिचय पत्र दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेसमा नागरिकता नपाएका नागरिकहरूले भोग्नुपरेको समस्या औँल्याउँदै नागरिकता विधेयकले ती समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले पनि मधेशका अधिकांश ठाउँका नागरिकले नागरिकता अभावकै कारण शिक्षा, स्वास्थ्य लगायतका आधारभूत अधिकारको समेत उपभोग गर्न नपाएको सुनाउनुभयो ।
नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था नागरिकता विधेयकमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्