१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव पारित


325
Shares

काठमाडौं । खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले उक्त संकल्प प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संकल्प प्रस्तावमाथिको छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । दाहालले संकल्प प्रस्तावमा उल्लेख भएका विषयहरु कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्न समेत आग्रह गर्नुभयो ।

संकल्प प्रस्ताव प्रस्तुत गर्दै शर्माले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दुषित पानी पिउनुपर्ने बाध्यता रहेको बताउनुभएको थियो । उहाँले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दुषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गर्नुभयो । सांसद शर्माले संकल्प प्रस्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताउनुभएको थियो । संकल्प प्रस्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी साह गरिमा र मोहम्मद खालिदले समर्थन गर्नुभएको थियो ।