३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपालमा जति सम्भावना अन्यत्र छैन : अध्यक्ष ढकाल


650
Shares

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक रुपमा व्यावसायिक गतिविधि बढाउने काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्तरिक उत्पादनले आयात रोक्ने र रोजगारी बढाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले आन्तरिक उत्पादनले राजश्व बढाउनेमात्र नभई निर्माणसँग सम्बन्धित सामग्री उत्पादनले आयात प्रतिस्थापन गर्दै रोजगारीको सुनिश्चितता गर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ढकालले बोर्डको स्थापनासँगै नेपालमा केही सम्भावना छैन भनेर नेगेटिभ भाष्य सिर्जना भइरहेको अवस्थामा नेपालमा धेरै सम्भावना छ र नेपालमा जति सम्भावना अन्यत्र छैन भन्ने म्यासेज दिएको दाबी गर्नुभयो । उहाँले उद्योगी व्यवसायीलाई सरकारले नीतिगत सुधार गर्दै साथ र सहयोग दिने हो भने आवश्यकताअनुसार हरेक सामाग्रीको उत्पादन नेपालमै गर्नसकिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ढकालले आगामी वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताको स्वागत गर्दै आगामी दिनमा काम गरेर विश्वास जित्नुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो ।