
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरोध गरिरहेका प्रतिपक्ष दलहरुलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस्तो आग्रह गर्नुभएको हो ।
संसदको प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेरो गोरुको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको जिकिर गर्नुभयो । रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको उहाँको भनाइ छ ।
समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई अड्काउन नहुने पनि बताउनुभयो । छानविन समिति स्वीकार गरेर छानविन समितिले निर्वाध रुपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलहरुले सचेत गराउन खबरदारी गर्नुपर्ने बताउनु भयो । सरकारले सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । जसमा रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।
मन्त्री गुरुङ विरोधको अब धेरै औचित्य नरहेको बताउनुभयो । संसदीय काम कारबाहीमा सामेल भएर संसद अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्