
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र सुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताउनुभएको छ ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरैले चासो राख्नुभएको बताउनुभयो । यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै खुशी बनाएको जिकिर गर्नुभयो । एक वर्षभित्र यसलाई उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको मन्त्री भण्डारीको दाबी छ । नेपालको समृद्धिमा खानी, खनिज लगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकताका साथ राखेको बताउनुभयो ।
मन्त्री भण्डारीले सरकारले औद्यागिक पार्कसहितका क्षेत्रमा आवश्यक योजना बनाएर अघि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्