
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संविधान बनाएको १० वर्ष बितिसकेकोले अब समीक्षा गर्ने समय आएको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले संघीयताको कार्यान्वयनमा र बजेट कार्यान्वयनमा भएका कमीकमजोरीसँगै राम्रा पक्षका विषयमा समीक्षा गर्ने समय आएको बताउनुभएको हो । उहाँले नेपालको संविधान उत्कृष्ट बनाएको दाबी गरिरहेपनि अलिकति इमोशनल र दवावबाट प्रेरित हुनुपरेको स्मरण गर्नुभयो ।
सांसद भट्टराईले तीन तहको सरकारले काम कसरी गरिरहेका छन्, कमी कहाँ छ रु त्यसबारेमा सोच्नुपर्ने समय आएको बताउँदै नेपालको जस्तो भूगोल भएको मुलुकमा ७ सय ५३ स्थानीय तह आवश्यक नभएको र करिब ५ सय स्थानीय तह बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको संख्या घटाएर जनशक्तिसँगै माथिल्लो तहका कर्मचारी र बजेट राम्रोसँग दिएर जवाफदेही बनाउनुपर्ने स्पष्ट पार्नुभयो । केन्द्रले राष्ट्रिय गौरबका १० देखि १५ वटा योजना राखेर बाँकी स्थानीय तह र प्रदेशमा दिनुपर्नेमा उहाँको जोड थियो ।
सांसद भट्टराईले जनतामा निराशा र आक्रोश बढ्दै गइरहेको अवस्थामा गलत तत्वहरुले उपयोग गरिरहेकोले त्यो स्थिति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्