७ असार २०८२, शनिबार | Sat Jun 21 2025


नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने


1.625k
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड शनिबारदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।

यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले शनिबारदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार शनिबारदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने शनिबारदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिनुभयो ।

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।