
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शिर्ष नेताहरूबिच छलफल भएको हो । उहाँहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने कुराहरू पनि समेटिएकोले ती विषयहरू बैठकमा राखिएको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण भई कामहरू प्रारम्भ भइसकेको अवस्था रहेको बताउँदै ती विषयहरूलाई पनि छलफलमा ब्रिफिङ गरेर जानकारी गराउने काम भएको बताउनुभयो । यस्तै, आयोगहरूको कार्यालय र सवारीसाधन व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको थियो । बैठकमा सङ्क्रमणकालीन न्याय कसरी अगाडी बढ्दै छ भन्ने विषयमा छलफल केन्द्रित भएको र बाँकी काम आयोगले गर्ने उहाँले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसहित गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्