
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले तयारी नभएकै कारणले विपद्बाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन, कानून तथा अन्य प्राविधिक, समान र सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल गर्दै निर्देशन समेत दिनुभयो ।
अध्यक्ष दाहालले विपद् हुने सम्भावित क्षतिलाई न्युनिकरणको लागि सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ सङ्गठनलगायतका सबै सङ्घसंस्था क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्