
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताउनुभयो । ‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्इमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्