४ असार २०८२, बुधबार | Thu Jun 19 2025


पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन


741
Shares

काठमाडौं । संघिय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् ।

समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधबार फ्लाई ओभरको स्थलगत अनुगमन गरेका हुन् ।

सो अवसरमा समितिका सभापति सिंहले पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताउनुभयो । उहाँले जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्रै फ्लाई ओभरले नपुग्ने बताउँदै १७र१८ ठाउँमा बताउनुपर्ने बताउनुभयो । उहाँले फ्लाई ओभर ब्रिजमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने जिकिर गर्दै त्यसको नियन्त्रणको लागि पनि नीति बनाएर काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थलगत अनुगमनका क्रममा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट भएकोले निर्धारित बजेट मै सम्पन्न हुनु सुखद् पक्ष भएको बताउनुभयो । उहाँले ट्राफिक लाइट र दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान लगायतका प्राविधिक हिसावले यात्रालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले फ्लाई ओभरसँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

२०७८ फागुनमा ओभर पास निर्माण दुई वर्षभित्र सक्ने गरी शुरु गरिए पनि पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी ३९ महिनामा फ्लाई ओभरको निर्माण सम्पन्न भएको हो । उक्त फ्लाई ओभरको आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।