४ असार २०८२, बुधबार | Wed Jun 18 2025


नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ


299
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । उहाँले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दाबी गर्नुभयो । उहाँले सार्वजनिक सेवा प्रशारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रशारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिनुभयो । उहाँले चाँडै तामाङ भाषामा पनि समाचार शुरु गर्ने बताउँदै नेपालमा बोलिने सबै भाषाको रासस बनाउने लक्ष्य रहेको जिकिर गर्नुभयो । सञ्चारमन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई पनि सबै भाषामा कार्यक्रम प्रसारण गर्ने दिशामा लैजाने योजना रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समावेशिताको मूल इपिसेन्टर रहेको समेत बताउनुभयो ।