
काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले यस्तो योजना भएको हो । इरान र इजरायलबिचको युद्ध चर्कँदै गएपछि मध्यपूर्वमा रहेको नेपालीको सुरक्षाको लागि सरकारले योजना बनाएको हो ।
मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहु आयामिक तयारी गरिरहेको बताउनुभयो । उहाँले सरकार, निजी क्षेत्र, एनआरएन तथा अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वयमा सम्भावित सङ्कट व्यवस्थापनका लागि प्रो–एक्टिभ (पूर्वतयारसहित) कदम चालिएको जानकारी दिनुभयो । उहाँले आफ्ना आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमीको लागि परराष्ट्र, गृह र प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको जिकिर गर्नुभयो । उहाँले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणको लागि अनुरोध गरेको बताउनुभयो ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका कारण सो क्षेत्रमा रहेका नेपालीहरू प्रभावित भएका छन् । सरकारी तथ्याङ्क अनुसार इजरायलमा ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू रहेका छन् भने इरानमा पनि दर्जन बढी नेपाली रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्