
काठमाडौं । आगामी शुक्रबारदेखि सुरु हुने प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ को तयारी पूरा भएको छ ।
काठमाडौं महानगरपालिका–२२ वडाको आयोजनामा आगामी असार ६ र ७ गते प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप हुँदैछ । आयोजक काठमाडौं महानगरपालिका वडा–२२ ले मंगलबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस प्रतियोगिता कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुँदैछ । उक्त प्रतियोगिता राष्ट्रिय सभा गृहमा नै सन्चालन हुनेछ ।
प्रतियोगिमा पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक तौल समूहको विजेताहरु मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन् ।
ओभरअल विजेता खेलाडीले मिस्टर महानगरको उपाधिसहित नगद पाँच लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौल समूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः स्वर्ण, रजत तथा कांस्य पदकसहित नगद पुरस्कार पाउनेछन् । हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै चौथो र पाँचौं हुने खेलाडीले पनि क्रमशः १५ हजार र १० हजार रुपैयाँ र पदक पाउनेछन् ।
काठमाडौं महानगरपालिका वडा–२२ ले ‘व्यायाम गरौं, स्वस्थ रहौं’, ’स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप गर्न लागेको हो । असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुने आयोजकले जनाएको छ। पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिष्पर्धा हुने भएको छ । अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिष्पर्धा गराउने काठमाडौं महहानगरपालिका वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो ।
यस प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्