Logo १८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026


बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ : अर्थमन्त्री पौडेल


299
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको सन्दर्भमा ३१ प्रतिशतले राजश्व वृद्धि हुने विश्वासका साथ प्रश्तुत गरेको समेत स्मरण गर्नुभयो ।

अर्थमन्त्री पौडेलले विगतको पृष्ठभूमि र अनुभवका आधारमा आगामी आर्थिक वर्षको बजेटमा राजश्वको सम्बन्धमा प्रश्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखिएको बताउनुभयो । उहाँले १७ प्रतिशतको राजश्व वृद्धिको लक्ष्य हुने विश्वास रहेको दोहो¥याउनुभयो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरिएको बजेटमा स्रोतको प्रश्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताउनुभयो । उहाँले लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने आलोचनाहरू सुन्दै आएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको प्रस्ताव गर्दा उक्त प्रश्ताव यथार्थपरक हुनुपर्छ भन्ने कुरामा आफू धेरै होसियार भएको जिकिर गर्नुभयो । उहाँले राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग र आन्तरिक ऋणको पक्ष आफू संवेदनशील रहेको समेत बताउनुभयो ।

अर्थमन्त्री पौडेलले विगतमा राजश्वको लक्ष्य पूरा भएर राजश्वसँग संवद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर गरेर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाउनुभयो ।

Skip This