२ असार २०८२, सोमबार | Tue Jun 17 2025


सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयो : अध्यक्ष लिङ्देन


598
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसदको बैठक सञ्चलन गर्नुभएको बताउनुभएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताउनुभयो । उहाँले संसदीय मर्यादा परम्परामा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध रहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको आरोप लगाउनुभयो । संसद सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाउनुभयो । सरकारमा बसेकाहरुको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताउनुभयो । संख्याको दम्भमा विचार निषेध गर्ने काम भएको बताउनुभयो ।