२ असार २०८२, सोमबार | Mon Jun 16 2025


‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै बजेट आयो : चित्रबहादुर केसी


689
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भएपनि उनीहरुलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताउनुभयो । रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र कृषिमा अझैपनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गर्नुभयो ।

दुध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्था आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उहाँको आरोप थियो । आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै अध्यक्ष केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाहवर्गका निमित्त बनेको बजेट भन्दा फरक नपर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारले संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आपूmले बजेटमाथिको छलफलमा भाग लिने गरेको बताउनुभयो ।

अध्यक्ष केसीले हरेक वर्ष नेपाली युवाहरुबाट कमिशन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहको सरकार चलाउने गरेको बताउनुभयो ।