१ असार २०८२, आइतबार | Sun Jun 15 2025


दिल्लीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित


4.277k
Shares

एजेन्सी । भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मीले मानिसहरुको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो केही दिनदेखि दिल्लीमा अधिकतम तापक्रम ४० डिग्री पुगेपनि लू चल्दा मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भइरहेको हो ।

आपदा प्रवन्धन प्राधिकरणले पछिल्लो केही दिनदेखि सर्वसाधारणको मोबाईलमा सन्देश पठाएर भारतीय मौसम विभागले पूरै दिल्लीमा “लू” को रेड अलर्ट जारी गरेकाले आफूलाई हाइड्रेट राख्न, चिसो राख्न र घामबाट बच्न परामर्श जारी गरिरहेको छ । विशेष गरी फिल्डको काम गर्ने मानिसहरु गर्मीबाट बढी प्रभावित भएका छन् भने बिहान र बेलुका कार्यालय जाने सर्वसाधारणले समेत समस्या झेलिरहेका छन् ।

तापमान ४०–४२ डिग्री सेल्सियस पुगेको भएपनि कतिपयले भने तापमान ५० डिग्री सेल्सियस नाघेको गर्मी अनुभव गरिरहेका छन् । कतिपय दिल्लीवासीले पंखा र कुलरले कामै नगरेको अनुभव सुनाएका छन् ।

गर्मीका कारण मानिसहरु बाहिर निस्कनबाट बच्ने प्रयास गरिरहेका छन् भने बाहिर निस्कनै परे मेट्रो रेलको प्रयोग बढी गरिरहेका छन् । रातको समयमा पनि गर्मीबाट राहत नभइरहेको सर्वसाधारणहरुको भनाई छ । आज दिल्लीमा अधिकतम तापमान ४० डिग्री सेल्सियल्स रहने अनुमान गरिएको छ भने भारतीय मौसम विभागले आज दिल्लीमा सामान्य पानी पर्नसक्ने पूर्वानुमान गरेको छ ।