
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको कार्यकारी निर्देशक शाक्यले बताउनुभएको हो । उहाँकाअनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पु¥याएको हो ।
कार्यकारी निर्देशक शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको बताउनुभयो । उहाँकाअनुसार विगतमा जति लगानी भयो त्यसले पुगेन । ३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला रु उहाँले प्रश्न गर्नुभयो ।
कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको संकेत गर्नुभयो । उर्जा क्षेत्रका लागि भएपनि विद्युत प्राधिकरणलाई बचाइराख्नुपर्ने बताउँदै उहाँले विद्युत प्राधिकरण खण्डिकरण हुने हो भने उर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताउनुभयो । शाक्यकाअनुसार विद्युत प्राधिकरण नीजि क्षेत्रको मेरुदण्ड हो । कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत प्राधिकरणलाई सबलीकरण गर्नुपर्छ ।
नेपाल अल्पविकासशिल मुलुकबाट विकशिल मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौति रहेको छ । वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न सक्दैन । यसमा निजी क्षेत्रले समेत विद्युत प्राधिकरणलाई सघाउनुपर्ने शाक्यले बताउनुभयो । शाक्यले व्यक्तिगत स्वार्थ छाडेर प्राधिकरणलाई अघि बढाउन चाहेको समेत जिकिर गर्नुभयो । उहाँले सबैलाई साथ दिन समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्