
काठमाडौं । वनसम्पन्न देश नेपालमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै सांसदहरुले वन नीतिमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेपाल वन सम्पदामा धनी हुँदाहुँदै पनि मलेसिया लगायतका देशहरुबाट काठ आयात गर्नु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले नेपालमा करिब ४६ प्रतिशत भूभाग वन क्षेत्र रहेको उल्लेख गर्दै त्यसको उपयोग गर्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले ‘हरियो वन, नेपालको धन’ भन्ने नारालाई सरकारले व्यवहारमा रूपान्तरण गर्न नसकेको बताउनुभयो । उहाँले सरकारको नीतिगत कमजोरीको कारण काठ जंगलमै कुहिरहेको उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद खालिदले काठ आयातको बढ्दो प्रवृत्तिले दीर्घकालीन असर पार्ने बताउँदै आयातलाई निरुत्साहित गर्न नीति ल्याउन जरुरी रहेको बताउनुभयो । बंगलादेश जस्ता मुलुकहरूले समेत नेपालमा काठ पठाइरहेका उल्लेख गर्दै उहाँले यस अवस्थाले सरकारमाथि प्रश्न उठेको बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि सबै स्थानीय तहमा वृक्षारोपण कार्यक्रम अनिवार्य गर्नुपर्ने र अनुगमन प्रणाली बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अर्का सांसद जगतबहादुर पार्कीले सरकारले निर्माण गर्ने भौतिक संरचनामा नेपाली काठको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी भवन निर्माणका लागि समेत आल्मुनियमको प्रयोगमा बढावा दिँदा काठको खपत झनै घटेको बताउनुभयो ।
बैठकमा अधिकांश सांसदहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म गम्भीर पुनरावलोकन गर्न आवश्यक रहेको भन्दै वन क्षेत्रको उपयोग, काठको उत्पादन तथा निर्यात नीतिमा दीर्घकालीन सुधारको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्