
एजेन्सी । भारतको दक्षिणी राज्य गुजरातको राजधानी अहमदावादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ ।
अहमदावाद विमानस्थलबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमै अहदावादकै मेघनीनगरमा दुर्घटना भएको हो ।
बोइङ– ७८७ ड्रिमलाइनर विमानमा १२ जना चालक दल र २३० जना यात्रु गरी २४२ जना रहेको एअर इण्डियालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानमा रहेका यात्रु मध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ६ जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक रहेको खुलेको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फ्लाइट नम्बर एआइ १७१ नम्बरको उक्त विमान आजै विहान नयाँ दिल्लीबाट अहमदावाद गएको अधिकारीहरुले बताएका छन् ।
विमान दुर्घटना भएको स्थान विमानस्थलबाट १५ किलोमिटर टाढा रहेको जनाइएको छ । विमान आकाशबाट खस्दै गर्दा आगो लागेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । विमान खस्ने वित्तिकै आगो नियन्त्रण गर्न दर्जनौं दमकल र ठूलो संख्यामामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानमा गुजरातका पूर्व मूख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय रुपाणी समेत रहेको जनाइएको छ ।
दुर्घटना स्थलमा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्