२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


काठमाडौं महानगरपालिकाका पूर्वप्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


6.37k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको दाबी गर्दै अख्तियारले परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक हुनुहुन्छ । मुद्दा दायर गरिएका अन्य ब्यक्तिहरुमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।

समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार मा कबोल गरेको ढल निर्माणको काम कल्पवृक्ष कोहिनूर जेभीलाई २२ करोड ४० लाख ९४ हजारमा दिएको आरोपमा अख्तियारले मुद्धा दायर गरेको हो ।

चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बढी प्रस्ताव गर्ने कल्पवृक्षलाई ठेक्का दिंदा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।