
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताउनुभएको छ ।
फ्रेण्ड अफ सिल्क रोड क्लब–नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताउनुभयो । उहाँले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताउनुभयो । उहाँले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गर्नुभयो ।
मन्त्री भण्डारीले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्