
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले अन्तर्राष्ट्रिय बजारमा नेपाली स्टार्टअपको पहुँच र वैदेशिक मुद्रा आर्जनको लागि काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद शाक्यले हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेको र सन् २०३० सम्म १० हजार स्टार्टअप र एक सय भन्दा बढी युनीकर्न कम्पनी दर्ता हुने र ५० हजार भन्दा बढी रोजगारी सिर्जना हुने अनुमान रहेको बताउनुभयो ।
सांसद शाक्यले यस्ता लक्ष्यहरू हासिल गर्न एन्जल इन्भेस्टर्स, भेन्चर क्यापिटल, क्राउडफन्डिङ, प्राइभेट इक्विटी जस्ता आधुनिक लगानी मोडेलको उपस्थिति आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सरकारले च्यालेन्ज फन्ड वा सीड फन्ड स्थापना गरी उत्प्रेरकको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । शाक्यले सामाजिक र वातावरणीय प्रभाव पार्ने व्यवसायमा लगानी प्रवद्र्धन गर्न इमप्याक्ट इन्भेष्टिङको अवधारणा लागु गर्नुपर्ने बताउँदै यसको सफल कार्यान्वयनको लागि मेन्टरसीप नेटवर्क, सहकार्य, स्थान, डिजिटल साक्षरता, उद्यमशीलता, तालिम र नेतृत्व विकासमा जोड दिनुपर्ने जिकिर गर्नुभयो ।
सांसद शाक्यले सबै वित्तीय संस्थाहरूले अनिवार्य रूपमा केही निश्चित प्रतिशत भेन्चर क्यापिटलमा लगानी गर्नुपर्ने व्यवस्थाबारे बजेटमा सम्बोधन हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्