२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


नेपाल एमेच्योर ओपनको उपाधि सद्भावलाई


390
Shares

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् ।

नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव पहिलो पटक यो च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लवमा सद्भावले आज २ अण्डर ७० खेल्दै समग्रमा २० अण्डर १ सय ९६ को स्कोर खडा गरे ।

उनले ५४ होलको १८ अण्डरको कुल रेकर्ड समेत तोडे । सदभाव यो प्रतियोगितामा दोहोरो स्वर्णको सफलता प्राप्त गर्न पनि सफल रहे। टिमतर्फ राहुलसँग मिलेर स्वर्ण जिते । उनले दोस्रो दिन १२ अण्डर ६० खेल्दै गोकर्णको कोर्स रेकर्ड पनि तोडेका थिए ।

नेपालका राहुल र भारतका सुमित कोटवालले समान १० अन्डर २ सय ६ को स्कोर बनाए । काउन्ट ब्याकमा राहुल दोस्रो र सुमित तेस्रो भए । राहुलले एक स्वर्ण र एक रजत हात पारे । हुलले आज ४ अण्डर ६८ को उत्कृष्ट स्कोर निकाले। सुमितले इभन–पार ७२ खेले ।

महिलातर्फ भारतकी अनन्थी विवेकले समग्रमा इभन–पार २ सय १६ सहित उपाधि जितिन् । उनले भारतकी दिया क्रिस कुमारलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । गत संस्करण तेस्रो भएकी अनन्थीले यो पटक उपाधि जितिन् । आज उनले ३ ओभर ७५ स्कोर गरिन् । दियाले समग्रमा १९ ओभर २ सय ३५ सहित दियाले दोस्रो स्थानमा चित बुझाइन् । उनले आज ८–ओभर ८० खेलिन् । नेपालकी तारा कार्की चित्रकार तेस्रो भइन् । उनले समग्रमा २ सय ५४ स्कोर गरिन् । आज ९१ स्कोर बनाएकी थिइन् ।

यु–१६ तर्फ भारतका भिभान उभयाकरले उपाधि जिते । समग्रमा १ अन्डर २ सय १५ स्कोर गरे। आज २ अन्डर ७० स्कोर गर्दा उनले भारतका प्रिन्स बैंस्लालाई ६ स्ट्रोकले हराए । भिभानले फ्रन्ट नाइन २ अण्डर ३४ र ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
प्रिन्सले आज इभन–पार ७२ खेल्दै समग्रमा ५–ओभर २ सय २१ स्कोर गरे । नेपालका रूबेन थापाले समग्रमा १३–ओभर २ सय २९ सहित तेस्रो भए। उनले आज ४–ओभर ७६ मा सकाए । काउन्ट ब्याकमा रुबेनले भारतका अड्भय बाग्लालाइ पछि पारे ।

च्याम्पियन्सिपका विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमल बहादुर भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल गल्फ संघका उपाध्यक्ष फुर्साङ लामा र नेपाल गल्फ संघका सदस्य रतन टण्डनले पुरस्कार वितरण गरे । तीन दिने ५४ होलको प्रतिष्पर्धामा नेपालसहित दक्षिण एशियाका बङ्गलादेश, भूटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता रहेको थियो। यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ ¥याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले ¥याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।