
काठमाडौं । नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट राजनीतिक, आर्थिक वित्तीय दस्तावेजका रुपमा आउनुपर्नेमा प्रशासनिक र वित्तीय दस्तावेजका रुपमा मात्रै आएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आजको आवश्यकता सामाजिक न्यायसहित समृद्धिमा फड्को मार्ने गरी आउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभएको हो । उहाँले बजेटले मितव्ययिताका कोणबाट सामान्य खर्च कटाउने सम्भावना र पुँजीगत खर्च कार्यान्वयनको क्षमता बढाउने चुनौतिलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो ।
नागरिकको अपेक्षाअनुसार काम हुन नसक्दा असन्तुष्टि र आक्रोश उत्पन्न हुँदा प्रतिगामी शक्तिहरु क्रियाशील हुन थालेको सांसद श्रेष्ठको भनाई थियो । प्रतिगमनको खतरालाई अन्त्यगर्ने अचुक अस्त्र भनेको सुशासन, समृद्धि र सामाजिक न्यायबाहेक अरु हुन नसक्ने उहाँले दाबी गर्नुभयो ।
सांसद श्रेष्ठले बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसकेको, दृढ निश्चय, प्रष्ट सोच विनाको, संकल्प बिनाको र आजको आवश्यकतालाई सम्बोधन गर्न नसक्नेगरी ल्याइएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्