
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आह्वान गर्नुभएको हो ।
जेठ १५ गतेदेखि राजावादीहरुले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने बताउनुभयो । सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो । जेठ १५ को आन्दोलन मुल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष लिङ्देनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहनुपर्ने बताउनुभयो । आन्दोलन हिंसात्मक बनाउन सरकार, सरकारबाट सञ्चालित संयन्त्रहरु क्रियाशिल हुनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो आइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्